Thursday, January 1, 2009

भण्डाफोर

दीपेश के.सी.

पहिले लुकिछिपी, सीमित स्थानमा र खासै दरभाउविना हुने यौनव्यापार हिजोआज तुलनात्मक रूपमा खुलेर, धेरै ठाउँमा र निश्चित दरभाउमा हुन थालेको छ। सरकारी निकायहरू यसलाई कारबाहीको मामिला बनाउ

न अनिच्छुक देखिँदै गएका छन्। बेलाबखत प्रहरी प्रशासनले 'आपत्तिजनक', 'अनैतिक' वा 'असामाजिक' काम गरेको भनेर कसै–कसैलाई छिटपुट पक्रे पनि मुद्दा नचलाई छाड्ने गरेको छ। एक वरिष्ठ प्रहरी अधिकृत त यतिसम्म भन्छन्, “कारबाही गरेर नियन्त्रण गर्न सकिन्न भन्ने भइसक्यो, तर काम देखाउन कहिलेकाहीँ समात्ने–छाड्ने त गर्नै पर्‍यो।”

एक जानकार सरकारी अधिकारी 'सरकारले व्यवहारमा यौनव्यापारलाई अपराध मान्न छाडिसकेको छ, खाली भन्ने हिम्मत मात्र नगरेको हो' भन्छन्। उनको भनाइमा सहमत अधिवक्ता मीरा ढुङ्गाना थप्छिन्, “व्यवहारमा मात्रै होइन, कानूनतः पनि यौनपेशा अपराध होइन।” तर, प्रहरी नायव महानिरीक्षक केबी राना चाहिँ सोझै त्यसो भनिहाल्दैनन्। उनको धारणा छ, “समाजलाई हानिनोक्सानी पुर्‍याउने अभिप्रायले यस्तो कार्य भएमा कारबाही गरिने हुनाले कानूनअनुसार अपराध नै होइन भन्न मिल्दैन।” अनौपचारिक कुराकानीमा चाहिँ धेरै प्रशासक र प्रहरी अधिकारीहरू यो मामिलालाई 'अपराध' मानेर नियन्त्रण र कारबाहीको बाटोमा जान नसकिएको यथार्थ स्वीकार गर्छन्। समाजशास्त्री डम्बर चेम्जोङ चाहिँ नेपालमा वेश्यावृत्ति वैध नभइसकेको बताउँदै उच्च वर्गमा हुने वेश्यावृत्तिलाई 'भ्रष्टाचार र शोषणको एउटा रुप' भन्न रुचाउँछन्।

नेपालमा यौनकर्मी महिला र तिनका ग्राहक कति होलान्? व्यक्ति र संस्थापिच्छे आ–आफ्नै अनुमान छन्, स्पष्ट सङ्ख्या यकिन गर्न त्यति सजिलो छैन। अन्तर्राष्ट्रिय गैरसरकारी संस्था फेमिली हेल्थ इन्टरनेशनल (एफएचआई) को सन् २००५ मा प्रकाशित 'नेशनल इस्टिमेट्स अफ् एडल्ट एचआईभी इन्फेक्सन्स् नेपाल' नामक प्रतिवेदनले राजधानी उपत्यकामा यौनव्यापारमा लागेका महिला यौनकर्मी करिब ८ हजार र तिनका ग्राहक दुई लाख भएको देखाएको थियो।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन र न्यु ऐरा तथा कृपा जस्ता अनुसन्धान संस्थाले पाँच वर्षअघि गरेका छुट्टाछुट्टै अध्ययनले उपत्यकामा महिला यौनकर्मीको सङ्ख्या २५ सयदेखि पाँच हजारसम्मको हाराहारीमा रहेको आकलन गरेका थिए। त्यसबेलै डेविड सेडन नामका एक विदेशी समाजशास्त्रीको अध्ययनले भने तिनको सङ्ख्या २५ हजार हाराहारी रहेको देखाएको थियो। द्वन्द्वका कारण ठूलो जनसङ्ख्या विस्थापित भएर शहर छिरेको अवस्थामा यस्ता सर्वेक्षणहरू अझै पूर्ण नहुन सक्छन्। यी मामिलाका जानकार नेपाल प्रहरी र स्वास्थ्यसम्बन्धी केही गैरसरकारी संस्थाहरू अहिले राजधानीमा मात्र सबै वर्गका गरेर ३० हजारभन्दा बढी यौनव्यवसायी महिला रहेको बताउँछन्। तर नेपालभरिमा यो सङ्ख्या कति हुनसक्छ यकिन गर्न सजिलो छैन।

विभिन्न अध्ययन र हिमाल को अनुसन्धानले के देखाएको छ भने उपत्यकामा महङ्गा यौनव्यवसायीले सामान्यतया एक ग्राहकबाट एक पटकमा रु.४ हजारदेखि १० हजारसम्म लिन्छन्भने सस्तोमा सेवा दिने यौनकर्मी चाहिँ रु.५०० वा सोभन्दा माथिको अङ्कमा कारोबार गर्छन्। यो विवरणबाट उपत्यकामा मात्रै मासिक केही करोडको यौन कारोबार भइरहेको विश्वास गर्न कर लाग्छ।



ठूलो जनसङ्ख्या, बजार र कारोबार भएकोले होला, प्रहरीले बेलाबखत हस्तक्षेप गर्ने गरेपनि पूरै बन्द गराउने अभियान चलाउन छाडेको छ। एक वर्षयता काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले यौनकर्मी महिलाहरूलाई बेलाबखत पक्राउ गरेपनि मुद्दा चलाएका छैनन्। महानगरीय प्रहरी सेवाका एक अधिकारी भन्छन्, “नाङ्गो नृत्य गरेको भनेर ल्याइएकालाई सार्वजनिक अपराधमा मुद्दा चलाउने र वेश्यावृत्ति गरेको भनेर समातिएकाहरूलाई सम्झाई–बुझाई पठाउने गरिएको छ।”

प्रहरीको जानकारी अनुसार उपत्यकाभित्र दुई सयको हाराहारीमा 'यौनकोठी' खुलिसकेका छन्। तीमध्ये धेरैजसो कहाँ छन् भन्ने पनि उसलाई थाहा छ। तर सरकारको अस्पष्ट दृष्टिकोणका कारण अहिले प्रहरी त्यहाँ निगरानी राखेजस्तो मात्र गर्छ, हस्तक्षेप गर्दैन। एकथरीको बुझाइमा वैध–अवैध के हो भन्ने अन्योलको फाइदा उठाउँदै कतिपय प्रहरीले यौनव्यापारका सञ्चालकबाट नियमित रकम उठाउने गरेकाले पनि प्रहरी चुप बस्ने गरेको देखिएको छ। 'महिनावारी' को रूपमा पाइने त्यो रकम 'माथि' सम्म पुग्ने गरेको एक प्रहरी अधिकारी बताउँछन्। फेरि यस्ता कोठी सञ्चालकलाई प्रहरी स्वयंले टेवा दिने गरेको र कतिपयमा त पर्दा पछाडिका सञ्चालकको रूपमा वर्तमान वा भूतपूर्व प्रहरी नै रहने गरेको पनि बुझिन्छ।

यसरी चल्छ व्यापार
यौनव्यापार कसरी चल्छ र यसमा कोको संलग्न हुन्छन् भन्ने पत्ता लगाउन हिमाल प्रतिनिधि राजधानीका व्यवस्थित यौनकोठी र सम्पर्क केन्द्रहरूमा छिरेको थियो। एउटा सम्पर्क केन्द्रमा पुगेपछि यो सम्वाददातालाई दलालले 'थोरैको देखाउँ कि २० सम्मको' भन्दै दराजबाट युवतीहरूका तस्बिर निकालेर एकपछि अर्कोको मूल्य भन्दै गए। उनी हजारको अङ्कमा कुरा गरिरहेका थिए। तस्बिरमा केही चिनेका लाग्ने अनुहार पनि देखिए। एउटी युवतीको तस्बिर देखाएर उनले भने, “आठमा भर्खरै बुकिङ भयो।”

हामी तस्बिर हेरिरहेका थियौँ, २२–२४ वर्षकी युवती कोठामा आइन्। उनीलगत्तै हेलमेट बोकेकी अर्की युवती छिरिन्। भर्खरै आएकीतिर सङ्केत गरेपछि दलालले उनीसँग कुरा गरेर '१० हजारसम्ममा हुन्छ' भने। हामीले पैसा बढी भयो भन्ने जवाफ दिएपछि उनले युवतीसँग फेरि पाँच मिनेटजति कुरा गरेर 'आजलाई पाँचसम्ममा हुन्छ, त्योभन्दा घटाउन सकिन्न' भने। पाँचमा मान्नुको कारण प्रस्ट पार्दै उनी भन्दैथिए, “तपाइँ जवान भएर मात्र घटाउन सकिएको हो। अधबैँसे, बूढो भएको भए १० घटी कुरै सुन्ने थिएनन्।” उनले एउटा होटेलमा सम्पर्क गरेर कोठा बुक गराए। हामी तीनैजना ट्याक्सीमा होटेल पुग्यौँ।

होटेलमा पुगेपछि चिनापर्ची भयो। आधुनिक पहिरनमा सजिएकी र हेर्दा 'स्मार्ट' देखिने ती युवतीले आफ्नो नाम विनिता मात्र भनिन्, थर बताइनन्। मैले सोधिनँ पनि। किनकि यो पेशामा लाग्ने अधिकांशले आफ्नो सही नामथर बताउँदैनन्। विनिताले शुरुमा पारिवारिक समस्याले यस्तो काममा लागेको बताउँदै भनिन्, “मासिक ५० हजारजति कमाइ हुन थालेपछि यही पेशा सजिलो लागेको छ। तर अरू नै राम्रो काम मिल्ने भयो भने विदेश जाने सोचाइमा छु। त्यसो भए पैसा पनि हुन्छ, इज्जत पनि।” उद्योगी, व्यवसायी, कलाकार, प्रहरी र सैनिक अधिकारीलगायत समाजका सबैजसो क्षेत्रका व्यक्तिहरूसँग विनिताको 'बसउठ' हुने गरेको छ। मूल्य कसरी निर्धारण हुन्छ? उनी भन्छिन्, “मान्छे अनुसार गरिन्छ। कुन खालको मान्छे भन्ने हामीलाई देख्दै थाहा हुन्छ। पाँच हजार रुपैयाँ तिर्न तयार भएर आएको मान्छेलाई विश्वास गर्न सकिन्छ।”

यौनव्यवसायमा लागेका सबैको कमाइ विनिताको जस्तो भने हुँदैन। क्याबिन रेस्टुरेन्टमा महिनाको रु.२५ सय तलब पाउने कविता भन्छिन्, “महिनाको २५ सयले धान्न सकिन्छ भने खाना 'सर्भ' गरेर अलिअलि जिस्किदिए पुग्छ, नत्र बढी पैसाका लागि ग्राहकलाई बढी रिझाउनुपर्छ। पैसा कमाउन सजिलो छैन।” ठमेलको डान्स रेस्टुरेन्टमा काम गर्ने तृष्णाले कहिलेकाहीँ ग्राहकसँग गएपछि पैसै नदिने गरेको कटु अनुभव पनि सुनाइन्।

अर्को दिन यो सम्वाददाता ठमेलको रङ्गीन दुनियाँमा छिर्‍यो। एउटा मसाज सेन्टरको बोर्ड टाँगिएको फ्ल्याटमा केही युवतीहरू तास खेल्दैथिए। भित्र पस्नासाथ एउटीले सोधिहालिन्, “मसाज गर्ने हो?” मैले हो भनेपछि उनीहरूले एकछिन् पर्खन भने। केही समयपछि दुई छुट्टाछुट्टै कोठाबाट दुई युवती अनि भारतीय मूलका एक अधबैँसे र नेपाली युवा बाहिरिए। सम्भवतः त्यहाँ एक चरणको 'मसाज' भर्खरै सकिएको थियो। 'मसाज गर्न' आउने–जाने क्रम पनि जारी नै थियो। म तास खेलिरहेको ठाउँमा मिसिएँ। त्यहीँ बसिरहेकी जुनु नामकी एक युवतीले हाकाहाकी भनिन्, “रोजेको युवतीसँग बस्ने हो भने पाँच हजार लाग्छ।” मसाज सेन्टरको नाममा यौनकोठी चलाउने त्यहाँकी एक मोटी महिला भन्दै थिइन्, “पैसा महङ्गो त भइहाल्छ नि! ठमेलको भाडै महँगो छ। तीन कोठाको महिनामा २० हजार तिर्नुपर्छ।”

यो पेशामा एक–दुई दिनका लागि 'बुक' गरेर युवतीलाई काठमाडौँ बाहिर लैजाने काम पनि हँुदोरहेछ। कसै–कसैले आफू लामो समयसम्म काठमाडौँ बाहिर बस्नुपर्ने भएकाले राम्री युवती खोजिदिन भन्ने गरेको एक दलाल बताउँछन्। तर काठमाडौँ बाहिर जाँदा हवाई टिकट, बसाइ अवधि र ग्राहक कति विश्वासिलो हो भन्ने हेरेर मात्र कारोबार हुन्छ। ती दलाल भन्छन्, “यसो गर्न हवाई टिकट वा गाडीभाडा बाहेक कम्तीमा १० हजार लाग्छ। अरू कुरा मान्छे हेरेर हुन्छ।” झट्ट सुन्दा विश्वास नलागे पनि उनले आफैँले त्यस्तो काम गरेको बताए।

होटेल, घर र फ्ल्याट


दलालहरूका पेशा चलाउने तौरतरिका पनि बेग्लाबेग्लै छन्। कोही स्तरीय होटेलमा कोठा त कोही राजधानीभित्र सिङ्गो घर भाडामा लिएर पेशा चलाइरहेका छन्। आफ्ना ग्राहकलाई मात्र जानकारी दिने र एउटा ग्राहकमार्फत् अर्को ग्राहकसँग सम्पर्क हुने हुनाले यस्तो ठाउँका बारेमा सितिमिति अरूले थाहा पाउँदैनन् भन्ने उनीहरूलाई विश्वास हुन्छ। तैपनि लामो समय एकै ठाउँमा बसेपछि हल्ला हुन वा सूचना चुहिन सक्ने हुनाले उनीहरू ठाउँ बदलिरहने पनि गर्छन्। कतिले एउटा तलामा रेस्टुराँ र अर्को तलामा 'गेष्टहाउस' खोलेर कोठी चलाएका छन्। यसो गर्दा उनीहरू रेस्टुराँ र गेस्टहाउस अलग–अलग हो भन्छन्, तर व्यवहारमा एउटैको हुन्छ।

छुट्टै घर वा फ्ल्याट लिएर व्यापार चलाउनेहरूले चाहिँ प्रायः दिउँसो युवतीहरू ल्याएर कोठामा राख्ने र ग्राहकलाई टेलिफोनबाट सम्पर्क गर्ने गर्छन्। कतिलाई ग्राहकले फोटो हेरेर कुरा मिलेपछि बोलाइन्छ। कतिपय युवती आफैँ ग्राहक खोजेर दलालले व्यवस्था गरेको ठाउँमा बोलाउँछन्। यसरी हुने कारोबार सामान्यतया महङ्गो र गोप्य हुन्छ।

उपत्यकाका सडकदेखि महङ्गा होटेलसम्म फैलिएको यौनव्यापारमा लाग्नेहरू प्रायः सबैले पैसा कमाउने बाध्यतामा यो पेशामा लागेको भन्ने गर्दछन्। उनीहरूमध्ये कतिलाई बदलिँदो सोख र जीवनशैलीले पनि यो पेशातिर तानेको छ। बजारको माग र आपूर्तिको अर्थशास्त्रीय सिद्धान्त यहाँ पनि लागू हुन्छ। सस्तो यौनबजारका ग्राहक न्यून वर्गका हुन्छन् भने एक पटकमा रु.५ हजारदेखि १० हजारसम्म लिने यौनकर्मीका ग्राहक उच्च वर्गका। त्यस्तै व्यवसाय गर्ने ठाउँ पनि स्तर अनुसार फरक–फरक छन्। तर एकदमै निश्चित मूल्य भने छैन, ग्राहक र व्यवसायीबीचको सम्झौतामै निर्भर हुन्छ।

हिमाल सँग कुरा गर्ने क्रममा आफूलाई 'जो पायो त्योसँग नबस्ने' भन्ने केही यौनकर्मी महिलाले ग्राहकप्रति खासै गुनासो गरेनन्। कतिपयले अरूले भनेको ठाउँमा जानुपर्ने र ग्राहक 'पूर्व परिचित पनि हुनसक्ने' जोखिम औँल्याए। पैसा लेनदेनमा आफूहरूलाई समस्या नभएको धेरैको अनुभव थियो। धेरैजसो ग्राहकको प्राथमिकता होटेलभन्दा राम्रो फ्ल्याट हुने उनीहरू बताउँछन्। धेरै पैसा तिर्छन् भन्ने विश्वास र चिनेको मान्छे नपर्ने सम्भावनाका कारण यौनकर्मीहरू राजधानीमा रहेका भारतीय मूलका व्यापारी र अरू विदेशीसँग 'बस्न' बढी उत्साहित हुन्छन्।

पछिल्लो समय यौनव्यापारलाई मलजल प्रदान गर्ने काम सशस्त्र द्वन्द्वले गरेको छ। गाउँगाउँमा असुरक्षा बढेपछि शहर छिर्ने अनि डिस्को, मसाज, डान्स र क्याविन रेष्टुराँमा काम गर्ने क्रममा धेरै युवतीहरू यो 'सजिलो पेशा' मा आकर्षित हुनपुगेको प्रहरीको भनाइ छ। अधिवक्ता मीरा ढुङ्गाना सशस्त्र द्वन्द्वले रोजगारीका अवसर खुम्चिएपछि यौनपेशाले बढावा पाएको हुनसक्ने बताउँछिन्। कतिले बढ्दो आवश्यकता, तर सीमित आम्दानीले गर्दा सजिलोसँग धेरै पैसा कमाइने यो पेशा रोजेका छन्। कविता भन्छिन्, “यतातिर जहिले भन्यो काम पाइन्छ, न नागरिकता चाहिन्छ न अरू झन्झट हुन्छ। गाउँका थुप्रै केटीहरू मजस्तै भागेर आउँछन्, शुरुमा गतिलो काम पाउँदैनन् अनि यस्तै ठाउँमा छिर्छन्।” १० वर्ष लामो सशस्त्र द्वन्द्वको क्रममा यौनपेशा उल्लेख्य रूपमा बढेको ठान्ने सांसद एवं पूर्व स्वास्थ्यमन्त्री शरदसिंह भण्डारी भन्छन्, “परसंस्कृतिग्रहणको प्रवृत्ति र पर्यटन उद्योगको वृद्धिले पनि यौन उद्योगलाई फस्टाउन सहयोग पुर्‍याएको छ।”

वैधानिकताको बहस

यौनव्यापार अपराध हो–होइन भन्ने बहस चलिरहँदा कतिपयले मानवअधिकार, विश्वव्यापीकरण, पर्यटन प्रवर्द्धन र मानवीय आकाङ्क्षा तथा चाहनाका कारण यसले वैधानिकता पाउनुपर्ने आवाज उठाएका छन्। मन्त्री छँदा खुलेर यस्तै कुरा उठाएका सांसद भण्डारी पनि यौनपेशालाई परिभाषित गरेर सङ्गठित र संस्थागत रूपमा वैधानिकता दिनुपर्ने बताउँछन्। उनी भन्छन्, “यौनलाई अनावश्यक नियन्त्रण गर्न खोज्दा समाज भित्रभित्रै खोक्रो भइसक्छ र समयमै त्यसलाई नसच्याएमा पछि भयावह रूपमा प्रकट हुने खतरा हुन्छ।” प्रहरी नायव महानिरीक्षक रानाको सुझाव छ, “धार्मिक र समाजिक मूल्य–मान्यतालाई ध्यान दिएर व्यवस्थित गर्नुपर्छ।”

तर अधिवक्ता ढुङ्गाना चाहिँ १९ वैशाख २०५९ मा सर्वोच्च अदालतले यौनकारोबारलाई 'एक प्रकारको पेशा वा व्यवसाय' मानिसकेकाले यो अरू पेशा वा व्यवसाय जस्तै वैधानिक भएको ठान्छिन्। उनको भनाइ छ, “सर्वोच्च अदालतको फैसला नजिर बनिसकेकाले यौनपेशा गर्दा कसैलाई समातेर लैजानु गैरकानूनी हुन्छ।” हुनपनि पूर्व प्रधानन्यायाधीश केदारनाथ उपाध्यायसमेतको इजलाशले त्यसबेला गरेको फैसलाले “वेश्यावृत्ति एक प्रकारको पेशा वा व्यवसाय हो” भनेको छ। त्यसैले यौन व्यवसायलाई व्यवस्थित बनाउन कानूनमा संशोधन गर्न वा नयाँ कानून बनाउन आवश्यक नभएको जिकिर गर्ने अधिवक्ता ढुङ्गाना प्रहरीले पदको दुरुपयोग गरेर जथाभावी समात्न छाडेमा यो आफैँ व्यवस्थित हुँदैजाने बताउँछिन्।

सांस्कृतिक र धार्मिक मान्यताका कारण यौनपेशालाई व्यवस्थित र मर्यादित बनाउनु सजिलो भने छैन। नेपाली समाजले अहिले पनि यसलाई 'अपराध' कै श्रेणीमा राख्ने गरेकाले जसरी बहस र छलफल गरे पनि कसैले त्यस्तो काम भइरहेको छ भनेर उजुरी गरेमा प्रहरी 'सक्रिय' हुन बाध्य छ। तर, यौन–कारोबारलाई व्यवस्थित बनाउन नदिने समाजका एकथरी ठालुहरूको आलोचना गर्दै शरदसिंह भण्डारी भन्छन्, “एचआईभी/ एड्सबाट बच्न र बचाउन पनि यौन व्यवसायलाई व्यवस्थित गर्नैपर्छ। कि व्यवस्थित गर्न दिनुपर्‍यो, कि यज्ञ र पूजा लगाएर एचआईभी/एड्सका जीवाणु भष्म गरिदिनुपर्‍यो।” समाजशास्त्री गोकर्ण ज्ञवाली पनि यसलाई व्यवस्थित गर्नुको विकल्प छैन भन्ने ठान्छन्। उनी भन्छन्, “सांस्कृतिक आधारमा नेपाली समाजले यौनपेशालाई अझै 'अपराध' मानिरहेको छ, तर समाज यसबाट भित्रभित्रै खोक्रो हुँदै गएकोले अब व्यवस्थित नगरी हुँदैन।”

No comments: