Thursday, January 1, 2009

झटारो....!

बदलिदो नैतिकता र बजारिया यौनसम्बन्ध

आनन्द वा आम्दानीका लागि गरिने दुई सहमत र गैरनातेदार वयस्कबीचको एकान्तिक यौनसम्बन्ध धर्माधिकारी वा राजकीय दण्डाधिकारीको सरोकारको विषय होइन।

सीके लाल
अङ्ग्रेजी शब्द 'भ्यालु' एकवचनबाट अनूदित हुँदा मूल्य वा मोल बन्छ भने बहुवचन 'भ्यालुज'लाई निष्ठा वा आस्थाको रूपमा बुझ्नुपर्ने हुन्छ। 'मोल' बजारशास्त्रको शब्दावली हो। त्यसैले सामान्यतः कुनै वस्तु वा सेवाको मूल्य त्यसको भौतिक प्रयोजन वा मानसिक सन्तुष्टिमा आधारित उपयोगितामा भर पर्छ। माग र आपूर्तिको अवस्थाले मोल घटबढ हुन सक्दछ। तर 'निष्ठा' नैतिकतासँग सम्बन्ध राख्दछ, त्यसैले सामाजिक मूल्य र मान्यताहरू आवश्यकताबाट नभएर आदर्श र आकाङ्क्षाबाट निर्देशित हुने गर्दछन्। त्यसो भए तापनि मूल्य (भ्यालु) र निष्ठा (भ्यालुज) असम्बद्ध शब्द भने होइनन्। बजार र नैतिकताबीचको अन्तरद्वन्द्व वस्तु वा सेवाको मोल, उचित मूल्याङ्कन वा मुनाफा र नाफाखोरी, गुणस्तर र उपलब्धता जस्ता विभिन्न बहसका मुद्दाहरूमा स्पष्ट देख्न सकिन्छ। देहव्यापारबारे बरोबर उठ्ने गरेको विवाद मूल्य र निष्ठाबीच चलिरहने निरन्तर अन्तरद्वन्द्वको सबभन्दा टड्कारो उदाहरण हो।

बजारको मान्यतालाई स्वीकार गर्ने हो भने कुनै पनि व्यक्तिको शरीर उसको मस्तिष्क जस्तै एउटा औजार हो, जसलाई आयआर्जनका लागि उपयोग गर्न सकिन्छ। दार्शनिकको संवेदनशीलता र अन्तरदृष्टि, लेखकको चिन्तन क्षमता, वैज्ञानिकको तर्कशक्ति तथा कवि कलाकारको सिर्जनशीलता जस्तै कामुकता पनि एउटा प्रकृतिजन्य प्रतिभा हो, जसलाई स्वान्तसुखाय, वहुजन हिताय वा अर्थोपार्जनमध्ये व्यक्तिगत रुचि, आवश्यकता वा बाध्यताअनुसार जुनसुकै उद्देश्यका लागि उपयोग गर्न सकिने हुँदा समाज वा राज्यले त्यसलाई नियमन वा निर्देशित गर्न सक्छ, तर निषेधित गर्न भने सक्दैन। यस अर्थमा देहव्यापार कर्म र व्यवसाय भएकाले त्यसलाई अपराधको कोटिमा राख्ने काम बरु अपराध हुन जान्छ। तर समाज र राज्य बजारको नियमअनुसार मात्र चल्दैन। धर्म र राजनीति समाजरुपी, त्रिखुट्टीका अरू दुई थामहरू हुन्।

धार्मिक दृष्टिकोणले देहव्यापार सामान्यतः सोचिने गरिएको जति हेय होइन। वेश्यावृत्ति वा नगरवधुको प्रसङ्ग बौद्ध र हिन्दू कथाहरूमा भेट्टाउन गाह्रो छैन। हो, इसाई तथा मुसलमान धर्माधिकारहरू भने वेश्यावृत्तिप्रति साह्रै असहिष्णु छन्। तर त्यसको कारण समेत पश्चिमी एसियाको सामाजिक संरचनामा खोज्नुपर्ने हुन्छ, धर्ममा होइन। हिन्दू धर्ममा परपुरुष वा परस्त्री गमनलाई सामान्यतः त्याज्य मानिए पनि त्यस्ता उदाहरणहरू प्रशस्तै भेटिन्छन्।

दर्शन मात्रले सर्वपाप हरण हुने मानिने पञ्चकन्याको किंवदन्ती कोट्याउँदा कामप्रति हिन्दूहरूको उदार अवधारणा बुझ्न सजिलो हुन्छ। कन्या शब्दको उत्पत्ति कमनीय (सेक्सी) बाट भएको मानिन्छ। र, आकर्षक एवं वरणीय सुन्दरीलाई कन्या भन्ने चलन मैथिललगायत केही पुराना हिन्दू संस्कृतिमा अद्यापि छ। तर को हुन् ती शुभातिशुभ पञ्चकन्या? यद्यपि, कुनै कुनै किंवदन्तीमा कुन्तीको साटो सीताको नाम लिइने गरिन्छ, तर अन्य चार कन्याहरूका बारेमा खासै विवाद छैन। ती महासतिहरू हुन्– अहिल्या, द्रौपदी, तारा र मन्दोदरी। अहिल्या, द्रौपदी तथा कुन्तीको एकभन्दा बढी पुरुषसँग शारीरिक सम्बन्ध रहेको कथा व्यापक छ। बाली–पत्नी तारा तथा रावणकी अर्धाङ्गिनी मन्दोदरी आ–आफ्ना पतिको निधनपछि आवश्यकता वा बाध्यतावश देवरलाई वरण गर्दछन्। लाग्दछ, हिन्दू धर्मशास्त्रले मर्यादा पुरुषोत्तम राम तथा आनन्ददाता कृष्णको कालखण्डका भिन्न महिलाहरूलाई पापीको रूपमा नभएर परिस्थितिद्वारा पीडित व्यक्तिको रूपमा प्रतिस्थापित गरेको छ। धार्मिक दृष्टिकोणबाट परपुरुष वा परस्त्री सम्बन्ध त्याज्य भए पनि हेय वा निषेध भने छैन। सामाजिक नैतिकताको बदलिँदो परिवेशमा भने आय वा आनन्दका लागि गरिने विवाहेत्तर शारीरिक सम्बन्धका बारेमा चिन्तनको एकरुपता छैन।

यौनव्यापारको समाजशास्त्र


आय वा आनन्द जेका लागि यौनसम्पर्क भएको भए तापनि विवाहेत्तर कामक्रियालाई वेश्यावृत्तिकै रूपमा विश्लेषण गर्न सजिलो हुन्छ। केही पुरातन चिन्तकहरू त सन्तानोत्पत्तिको उद्देश्य बाहेकका सबै कामक्रियालाई वेश्यावृत्तिको कोटिमा राख्छन्। वेश्यावृत्तिका अध्येताहरूका अनुसार कानूनी वा गैरकानूनी जस्तोसुकै हैसियत दिइएको भए तापनि यौनव्यापारलाई प्रवृत्ति, नारीवाद, सामाजिक मनोविज्ञान र बजारशास्त्र गरी चार किसिमले सैद्धान्तिक व्याख्या गर्न सकिन्छ।

प्रवृत्तिजन्य गैरवैवाहिक यौनसम्बन्धलाई अध्येताहरू विवाहको मूल्य र मान्यतासँग जोडेर हेर्न रुचाउँछन्। विवाहको मूल उद्देश्य परिवार निर्माण हो। परिवार एउटा आर्थिक, सामाजिक र प्रजनन् इकाईको रूपमा रहँदै आएको छ। तर यौनसम्बन्ध 'अर्थहीन' अर्थात् सामाजिकता वा सन्तानोत्पत्ति बाहेकका उद्देश्यका लागि पनि आवश्यक पर्छ। त्यस्तो अवस्थामा कानूनी हैसियत जे भए पनि; र, नैतिकताको नियमले जे भने पनि, यौनव्यापार त फस्टाउँछ नै। त्यसैले वेश्यावृत्तिलाई मानवसभ्यताको सबभन्दा पुरानो पेशाको रूपमा समेत चित्रण गर्ने गरिएको छ। प्रवृत्तिजन्य विश्लेषणको पुष्टि पारिवारिक सम्बन्ध दिगो रहेको समाजमा वेश्यावृत्तिको व्यापकताले पनि गर्छ। 'अर्थहीन यौन' को सहज निकास उपलब्ध गराएर नगरवधुले परम्परागत परिवारलाई विशृङ्खल हुनबाट जोगाइरहेका हुन्छन्।

नारीवादी व्याख्या अनुसार यौनव्यापार पितृसत्तात्मक समाजको स्वाभाविक उपज हो र जहाँ लैङ्गिक विषमता धेरै हुन्छ त्यहाँ यौनव्यापार फस्टाउँछ। महिलालाई 'वस्तु' वा 'सेवा प्रदायक' को रूपमा मात्र प्रयोग गरिएको आक्षेप लगाउने नारीवादीहरूका अनुसार पुरुषलाई प्रधान पात्र मान्ने वैवाहिक, पारिवारिक तथा सामाजिक सम्बन्धले यौनव्यापारलाई बढावा दिन्छ; स्वाभाविक बनाउँछ।

यौनव्यापार सम्बन्धी सामाजिक मनोविज्ञानका व्याख्याहरू अलि मिहिन तर जटिल प्रकृतिका छन्। भनिन्छ, बाल्यकालको कटु अनुभव, आमाबुबाको अवहेलना तथा त्रासद अनुभूति लिएर हुर्किएका युवाहरू सेवाप्रदायक वा ग्राहकका रूपमा यौनव्यापारतिर बढी आकर्षित हुने गर्दछन्। त्यस्तै यौनकर्मीको सङ्गत, सजिलो कमाइको चाहना एवं अदम्य र उत्कट महत्त्वाकांक्षा बोकेका व्यक्तिहरूलाई सामाजिक नैतिकताले छेक्न सक्दैन र ती यौनव्यापारतिर आकर्षित हुन्छन्। शक्तिशाली पुरुषहरूको 'अर्थहीन यौन' को चाहनाले यस्तो मनोवृत्तिलाई मलजल पुर्‍याउँछ।

परिस्थितिजन्य बाध्यताले उब्जिएका विस्थापनको त्रासदी, गृहयुद्धको तरल नैतिकता तथा अत्यन्त तीव्रगतिले भइरहेका आर्थिक, सामाजिक परिवर्तनहरू पनि यौनव्यापारलाई फस्टाउन मद्दत पुर्‍याउँछन्। नेपाली समाजमा हेय अर्थमा प्रयोग हुने गरेका 'बर्मेली टोल', 'शरणार्थी इलाका' वा 'विस्थापित वस्ती' जस्ता अभिव्यक्तिहरू यथार्थवादी नहुन पनि सक्छ; तर जरा चुँडिएका व्यक्तिका नैतिक मूल्यहरू अपेक्षाकृत तरल हुन्छन् भन्ने मान्यता व्यापक छ।

बजारशास्त्रको व्याख्या सबभन्दा सरल छ। पहिलो कुरा, मनोरञ्जन पर्यटन तथा जुवाजस्ता व्यवसायहरूले वा गृहयुद्धको अवस्थाले यौनव्यापारको मागलाई बढाउँछ। त्यो माग आपूर्ति गर्न बजार संरचना बन्छ। आपूर्ति बढ्छ। त्यसपछि बढेको आपूर्तिले स्वयं आफ्नो माग सिर्जना गर्न थाल्छ। र, त्यसपछि यो 'माग–संरचना–आपूर्ति' को दुष्वृत्तलाई तोड्न सकिँदै सकिँदैन। यही कारणले भनिन्छ लागूपदार्थ तथा साना हातहतियारको ओसारपसार पछि अनधिकृत यौनव्यापार संसारको तेस्रो सबभन्दा ठूलो अवैधानिक कारोबार हो।

चारै किसिमका व्याख्याहरूलाई केलाउँदा नेपालमा फस्टाउँदै गइरहेको यौनव्यापारलाई हेर्दा कुनै आश्चर्य लाग्दैन। बरु, नेपाली अर्थव्यवस्थाका विकृतिहरूले जन्माएको भुइँफुट्टा वर्गको उदयले देहव्यापारको मुद्दालाई अझ जटिल बनाएको छ।

असुरक्षित मनस्थिति
विक्रमाब्धको '४० को दशकतिर नेपाल भित्रिएको अनियन्त्रित बजारवादले गर्दा एउटा यस्तो वर्गको उदय भएको छ जोसँग एकाएक उसले कहिल्यै नचिताएको रकम हातमा परेको छ। वैदेशिक सहयोगको ओइरो र त्यसबाट उत्पन्न भ्रष्टाचार र अपचलन, विप्रेषण उत्प्रेरित अपराधीकरण तथा तीव्र सैनिकीकरणले गर्दा एकथरी नेपालीहरू जीवनलाई नै जुवाको खाल मान्न थालेका छन्। परिस्थितिले गर्दा सामान्य नेपाली हारिरहेका छन्, तर नवधनाढ्य झन्झन् धनी हुँदै गइरहेको छ। समस्या के भइदियो भने सामन्ती संस्कार आत्मसात् गरिसकेका यस्ता नयाँ पैसावालहरूमा कर तिर्ने संस्कृति छैन, परोपकारको संस्कार छैन र मितव्ययिताको परिपक्वता छैन। त्यसैले ती फिजुलखर्चीतिर आकर्षित हुन्छन्।

फिजुलखर्ची पनि एउटा कला हो; जो पायो त्यसले आडम्बर पनि ढङ्ग पुर्‍याएर देखाउन सक्दैन। अनधिकृत रूपले धन कमाएका व्यक्तिहरूसँग स्रोत त छ, तर सोच पटक्कै छैन। त्यसैले ती सङ्गीत र नृत्यको पारखी बन्नुको साटो भट्टीपसल धाउँछन््। पर्खालमा कलाकृति झुण्ड्याउन नजानेर घरभरि सङ्गमरमर ओछ्याउँछन्। किताब नकिनेर रक्सीको बोतलले बैठक कोठा सजाउँछन्। जसरी राम्रो कमाइ भएको दिन एउटा भरियाले विदेशी चुरोट सल्काएर तृष्णा मेटाउँछ त्यस्तै गरी बिना मिहिनेत हात परेको कमाइबाट ५–१० हजार खर्च गरेर नवधनाढ्य यौनबजारमा पुग्छ।

सजिलो कमाइले दिएको उर्त्सजनीय अवशेषको छटपटी नोकरी पेशा तलबजीवीहरूमा झन् बढी हुन्छ। नियमित मासिक आयमा अभ्यस्त भइसकेको जिन्दगीमा अचानक थप नगदले प्रवेश पाएपछि तलबजीवीको भुइँमा खुट्टा हुँदैन। ऊ बचत र निवेश गर्न जान्दैन, त्यसैले एउटा घर र मोटर जोडेपछि आफ्नो आर्थिक भविष्य सुरक्षित गर्न बढीमा आफ्नो बीमा गराउँछ र गरगहना खरिद गर्छ। त्यसपछिको आम्दानीले रक्सी, गैरवैवाहिक यौन वा जुवाघरको बाटो खोज्न थाल्छ। भनिन्छ, भविष्यप्रति आशावादी व्यक्तिले लगानी गर्छ तर तत्काल तुष्टि चाहने असुरक्षित व्यक्तित्वले लत अँगाल्छ।

असुरक्षाको मनोविज्ञान पति र पत्नीबीचको बदलिँदो सम्बन्धले पनि उत्पन्न गराएको हो। स्त्री आफ्नो पतिभन्दा बढी कमाउने भई भने उसले बराबरीको अधिकार स्थापित गर्न खोज्छे, त्यति हो। तर पुरुष आफ्नी पत्नीभन्दा बढी कमाउने छ भने ऊ आफ्नो कामकाजी अर्धाङ्गिनीको जीवनमा हैकम चलाउन खोज्छ। शहरी जीवनको भागाभागमा त्यो सदैव सम्भव हुँदैन। अनि दुवैको कुण्ठा गैरवैवाहिक यौनसम्बन्धमा परिणत हुनसक्छ। सम्बन्धविच्छेद अझै व्यापक भई नसकेकाले यस्ता तनावपूर्ण दाम्पत्य जीवनका कटुताहरू छताछुल्ल हुन पाएका छैनन्।
यौनव्यापारलाई बढावा दिने अर्को एउटा महत्त्वपूर्ण अवयव पुरुषहरूको अपेक्षाकृत लामो वयस्कता अवधि पनि हो। चालीस नाघेको तर साठी न छोएको पुरुष निरन्तर द्विविधामा बाँचिरहेको हुन्छ। पुस्तान्तरको असुरक्षाभावले ग्रस्त वयस्क रायसल्लाहका लागि बुज्रुगकहाँ जान सक्दैन किनभने परिवार छुटिसकेको हुन्छ। ऊ युवा भइरहन चाहन्छ, तर प्रौढताले सुस्तरी छोप्न लागेको आत्माभूतिले सोझै अल्लडता देखाउन पनि सक्दैन। कुण्ठाबाट मुक्ति, हीनताबोधबाट छुटकारा तथा सस्तो अहंकार तुष्टिका लागि असुरक्षित वयस्कहरू व्यावसायिक यौनकर्मीको सहारा खोज्छन्। उपल्लो मोलको श्रेणीमा रहेका व्यावसायिक यौनकर्मीका अधिकांश ग्राहकहरू वयस्क पुरुष नै हुने गर्दछन्।

यौनव्यापार खुला बजार र नियन्त्रित समाजको यथार्थ हो। हत्केलाले छोेपेर नेपाली समाजको यो वास्तविकतालाई लुकाउन सकिँदैन। समाजको आर्थिक, सांस्कृतिक; राजनीतिक तथा मनोवैज्ञानिक धरातलीय यथार्थहरू सँगसँगै नैतिकताका आयामहरू पनि समयको गतिसँगै बदलिनु स्वाभाविक प्रक्रिया हो। खोक्रो नैतिकताको खोल फालेर राज–समाजले बरु बालयौन अपराध, बलात्कार, यौनशोषण तथा झुक्याएर गराइने देहव्यापारलाई नियन्त्रण गर्नेतर्फ आफ्नो ध्यानकेन्द्रित गर्नुपर्छ। आनन्द वा आम्दानीका लागि गरिने दुई सहमत र गैरनातेदार वयस्कबीचको एकान्तिक यौनसम्बन्ध धर्माधिकारी वा राजकीय दण्डाधिकारीको सरोकारको विषय होइन। यौनबारे समाजमा व्याप्त रहेको सामन्ती पाखण्ड विस्तारै हट्दै गइरहेको छ। दुःखमनाउ गर्नुको साटो परिवर्तित परिस्थितिलाई आत्मसात् गर्दै सोही अनुकूल स्वयंलाई ढाल्नुबाहेकका उपायहरू व्यावहारिक छैनन्।

1 comment:

Anonymous said...

yo ta really dherai ramro collection.