Thursday, January 1, 2009

खाना नपाएसी क्यारम?

राजमार्गमा झन् बढ्यो

मध्य र सुदुरपश्चिममा कुनै समयका चर्चित 'यौन अखाडा'हरूको ठाउँ अहिले राजमार्ग र अन्य शहर बजारले लिन थालेका छन्। राजमार्गमा यौनव्यापार चलाउने मध्येकी एक युवती।
पछिल्ला केही वर्षयता मध्य र सुदूरपश्चिममा यौनव्यापार बढेको छ। पहिलेका चर्चित 'अखाडा' हरू सुक्दै गएपनि ठूला–साना शहरबजार र राजमार्ग आसपासका ठाउँमा यो बढ्दो क्रममा छ। तर प्रहरी–प्रशासनले यसमा टाउकोदुखाउन छाडेको छ।
सुदूर र मध्यपश्चिम क्षेत्रमा यति नै यौनकर्मी छन् भनेर यकिन गर्न सजिलो छैन। जनरल वेलफेयर प्रतिष्ठान (जीडब्ल्यूपी) ले नेपालगञ्ज र आसपासका क्षेत्रमा करिब पाँचसय युवती यौनपेशामा लागेका हुनसक्ने अनुमान गरेको छ। प्रतिष्ठानका नेपालगञ्ज प्रमुख तारासिंह साउद भन्छन्, “हातमुख जोर्न समस्या भएर लाग्नेहरूसम्म चाहिँ हामी पुगेका छौँ। ठूलाहरूसम्म पुग्न नसकिने हुँदा यसै भन्न सकिन्न।”
कुनैबेला बर्दियाको राजापुर, कैलालीको मुढा, बाँकेको गगनगञ्जमा विशेष गरी वादी जातिका महिलाहरूको नाम गाँसिएर हुने यौनव्यापार अहिले अरू जातका महिलाहरूको समेत संलग्नतामा नेपालगञ्ज, सुर्खेत, धनगढी, त्रिभुवननगर, तुल्सीपुर लगायतका शहरमा झाङ्गिदै गएको छ। यसबारे अध्ययन गरिरहेको एक संस्थाका अनुसार, मध्य र सुदूरपश्चिमको यौन बजारमा अहिले जुनसुकै जात–जाति र वर्ग–क्षेत्रका युवतीहरू छन्भने तिनका ग्राहकहरूमा पनि सामान्य पैसा खर्च गर्न सक्नेदेखि लिएर राम्रै खर्च गर्नसक्ने र विभिन्न क्षेत्र, जातजाति तथा वर्ग–समुदायका छन्।
मध्य र सुदूरपश्चिमका राजमार्ग आसपासका बजार तथा गाउँवस्तीहरूमा पछिल्ला दुई–तीन वर्षमा यौन व्यवसायमा वृद्धि भएको छ। मुख्यतया गाउँबाट काम खोज्न र पढ्न शहर पसेका तथा विस्थापित युवतीहरू यो काममा लागेको देखिन्छ। भेटिएका अधिकांश युवतीले अभाव टार्न यो पेशामा लागेका बताए। राजमार्ग आसपासका होटेल, लजमा चल्ने यो कारोबारका ग्राहकमा यातायात व्यवसायी, यात्री, व्यापार व्यवसाय र बजार प्रवर्द्धनको क्रममा हिँडडुल गर्नेहरू धेरै छन्। हिमाल ले राजमार्गमा भइरहेको यौन व्यवसायको समाचार विवरण सङ्कलन गर्ने क्रममा धेरैका थरीथरीका पीडा र वेदना सुन्यो। कञ्चनपुरबाट आएकी एक युवतीले आफूलाई महिलाका लागि काम गर्ने एउटा सामाजिक संस्थाले नै यो पेशासम्म ल्याई पुर्‍याएको बताइन्। गाउँमा माओवादी त्रास बढेपछि नेपालगञ्ज आइपुगेकी उनलाई एउटा संस्थाले केही समय आश्रय दियो र रेष्टुरेन्टमा काम गर्न पठायो। उनी भन्छिन्, “त्यहाँको कमाइले खर्च धान्नै सकिएन। आम्दानी पनि राम्रो हुने देखेर यो काममा लागेँ।”
यौनव्यापार भइरहेको र धेरैजसो ग्राहकले बाहिरबाट युवती लिएर आउने गरेको थाहा भए पनि प्रहरी–प्रशासन क्रियाशील छैन। एक प्रहरी अधिकृत भन्छन्, “खुलेआम वेश्यावृत्ति हुन्छ, तर माथिको निर्देशन नआई हामीले केही गर्न मिल्दैन।” होटेलमा जाने धेरैजसो यौनकर्मीका ग्राहक सीमापारिबाट आउने भारतीय व्यापारी र कर्मचारी हुन्छन्। उनीहरूले दिने पैसा पनि केही बढी हुन्छ। एक होटेलका कामदार भन्छन्, “आफ्नो परिचय खुल्ने डरले पनि केटीहरू बाहिरकै ग्राहकसँग सजिलो मान्छन्।”
दुई वर्षअघि प्रहरीले नेपालगञ्जमा यौनव्यापार गरिरहेका केही पेशेवरहरूलाई कारबाही चलाएयता कोही पक्राउ परेका छैनन्। त्यसबेला प्रहरीले पूर्व प्रहरी हवल्दार अर्जुन केसी र एक बहालवाला प्रहरी अधिकृतकी पत्नी कमला धामीलाई मुद्दा चलाएको थियो। केसीले नेपालगञ्ज–५ गणेशपुरमा र धामीले बसपार्क रोडको दैलेखी होटेलमा सम्पर्क केन्द्र बनाएर व्यापार चलाएका थिए। त्यसैगरी एभरेष्ट होटेल सञ्चालिका यदुकुमारी गिरी, भाडामा घर लिएर व्यवसाय सञ्चालन गर्ने मीना भन्ने नाज्मा हास्मी र उनका दुई सहयोगी पनि पक्राउ परेका थिए। तर अहिले प्रहरी प्रशासनको ध्यान यस्तो कारबाहीतिर छैन। बाँकेका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मा पनि 'निगरानी भइरहेको र आवश्यक परे जुनसुकै बेला कारबाही गर्न सकिने' मात्रै बताउँछन्।
समाजले नै यौनव्यापारलाई क्रमशः स्वीकार गर्न खोजिरहेकाले होला प्रहरी प्रशासन बढी सक्रिय हुन खोजेजस्तो देखिँदैन। “समाजलाई पचेको छ भने हामीले मात्र किन टाउकोदुखाइरहने”, सुर्खेतका प्रहरी उपरीक्षक सुवासचन्द्र चौधरीेले हिमाल सँग भने, “जनताले कम्प्लेन गर्दैनन्, सूचना दिँदैनन्, अनि हामीले के गर्ने?” तर चौधरीले भनेजस्तो प्रहरीले सूचना नपाएर मात्रै केही गर्न नसकेको होइन। यसभित्रको लेनदेनमा प्रहरी संलग्नताले पनि उसलाई केही गर्नबाट रोक्ने गरेको छ। एकजना दलालले यतिसम्म भने, “धेरैलाई हामीले पालेका छौँ, तपाईंले लेखेर केही हुनेवाला छैन।”
रामेश्वर बोहरा, नेपालगञ्जमा

No comments: