Thursday, January 1, 2009

लौ खा त नेपाली पनि?

ब्लू फिल्ममा नेपाली अनुहार ..........!
एक दशकअघिसम्म अङ्ग्रेजी ब्लू फिल्म समेत मुश्किलले पाइने नेपाली समाजमा आफ्नै अनुहारका त्यस्ता चलचित्र पाइन थालेको छ। हिंसालाई स्वीकार गर्दै आएको नेपाली समाजले राज्य र समाजशास्त्रीहरूलाई समेत त्यति थाहा नदिई खुला सेक्सलाई आत्मसात गरेको देखिएको छ।
**************************************

सिनेमाको पर्दामा नायिका रेखा थापालाई स्वीमिङ कष्ट्यूम लगाएर नायकसँग लहसिएको देख्दा जिब्रो टोक्नेहरूलाई एउटा नेपाली जोडीलाई सर्वाङ्ग नाङ्गो अवस्थामा छ्यानमा रतिक्रीडा गरिरहेको भिडि देख्दा कस्तो लाग्ला? देशभरका हजारौँ भिडियोपार्लर र युवा जमातका मोबाइल एवं कम्प्युटरहरूमा अहिले बढ्दो सङ्ख्यामा त्यस्तै नेपाली ब्लू फिल्म फैलिइरहेका छन्।

हिमाल ले देशभर गरेको अध्ययनले नेपाली समाजको लोकाचारको मुखुण्डो क्रमशः उदाङ्गो भइरहेको देखाएको छ। बाहिर बाहिर शास्त्रीय लोकाचारको गफ दिने, तर भित्र-भित्र शयनकक्षमा बसेर नग्न बालाका तस्बिर हेर्दै रमाउने मध्यम वर्गीय नेपाली पुरुषहरू मात्र हैन चुल्हाचौकामा सीमित ठान्ने गरिएका महिलाहरू समेत विश्वव्यापी भइरहेको यौन स्वच्छन्दताको स्वाद लिइरहेका छन्।

अनुसन्धानकर्ता मार्क लिट्टीले काठमाडौँ खाल्डोमा उदाउँदै गरेका नवधनाढ्यहरूले खपत गर्ने सेक्स र भोजनको बारेमा उल्लेख गरेको प्रसङ्ग नेपालका स-साना शहरमा पनि लागू हुन थालेको छ। ब्लू फिल्म निर्माणमा यस्तै वर्गको प्रत्यक्ष-परोक्ष संलग्नता छ। १० वर्षअघिसम्म विदेशबाट लुकाएर ल्याइने अङ्ग्रेजी ब्लू फिल्मका चक्का पनि केही सम्भ्रान्त र लाहुरे परिवार भन्दा बाहिर पाइन मुश्किल पर्थ्या, तर हिजोआज थुप्रै नेपाली ब्लू फिल्म जताततै पाइन थालेका छन्। यस्ता चलचित्र किन बनिरहेका छन् र त्यसका लागि कुन कुन तत्वले प्रमुख भूमिका निर्वाह गरिरहेको छ भन्ने यथार्थ रोचक देखिन्छ।

फिल्म थरी-थरीका
नेपाली समाजमा देखिएको असीमित आकाङ्क्षा राजनीतिमा मात्र हैन, रेष्टुरेन्टमा गएर खाइने विदेशी परिकार र फास्टफुडदेखि शयनकक्षमा गरिने नितान्त वैयक्तिक मामिलामा समेत बढेको छ। यसरी पश्चिमा मानसिकतासँग एकाकार हुन खोजिरहेको नेपाली समाजमा दैनन्दिन यस्तो जमातको वृद्धि भइरहेको छ, जसले यौनमा समेत विविधताको रस र नयाँ स्वाद लिन खोजिरहेको छ। सुन्दा अपत्यारिलो लाग्छ― हिजोसम्म कालो, अग्लो, वलिष्ठ शरीर र गोरी, अग्ली, स्लिम सुन्दरीबीच चल्ने यौनकर्मका चलचित्रबाट तुष्टि लिइरहेका नेपाली दर्शकहरूले आफूजस्तै औसत उचाइ, श्यामवर्ण र गहुँगोरो शरीरले खेलेका चलचित्रबाट सन्तुष्टि लिन थालेका छन्। देशभरका भिडियो पार्लरहरूबाट सङ्कलन गरिएको जानकारी अनुसार नेपाली ब्लू फिल्म खोजी-खोजी हेर्न चाहने सम्भ्रान्तलगायत मध्यमवर्गीय ग्राहकको मानसिकताले यस्तै चित्र प्रस्तुत गर्दछ।

बजारमा उपलब्ध र सौखिनहरूका कम्प्युटर हार्ड डिस्कमा सङ्गृहीत छोटा-लामा नेपाली ब्लू फिल्महरू दुई किसिमले बनेका छन्― जोडीको सहमतिमा सोखका लागि र व्यावसायिक रूपमा। सोखका लागि बनाइएका फिल्म केही कमसल पनि हुनसक्छन् भने व्यवसायका लागि बनाइएका प्राविधिक रूपले स्तरीय हुन्छन्। कलेज परिसर र छात्रावासमा गरिएका यौनकर्मका दृश्यले मात्र हैन पैसा तिरेर हेर्न सकिने इन्टरनेट साइटमा राखिएका लामा-लामा नेपाली ब्लू फिल्मले नेपाली यौनशैलीलाई विश्वव्यापी बनाइदिएका छन्। मोबाइल फोनबाट खिचिएका थुप्रै क्लिप्सहरू बजारमा उपलब्ध छन्।

पोखरा, बिरौटाकी सीमा गुरुङ (नाम परिवर्तन)लाई शुरुमा ब्लू फिल्म हेर्दा घिन लागे पनि अहिले उनी खोजी खोजी त्यस्ता फिल्म हेर्ने गरेको बताउँछिन्। पोखरामै बीबीएस दोस्रो वर्षमा अध्ययनरत उनी कहिलेकाहीँ आफूलाई पनि त्यस्तो फिल्म खिच्न मन लाग्ने बताउँछिन्। गुरुङले त्यस्ता युवापुस्ताको नेतृत्व गर्छिन्, जसलाई रहर र अनुभवका लागि पनि यौन दृश्य क्यामेरामा कैद गर्न कुनै अप्ठ्यारो लाग्दैन।

बजारमा उपलब्ध यस्ता फिल्ममध्ये कतिपय साथीभाइले थाहा नदिई सार्वजनिक गरिदिएका छन् भने कति आपसी सम्बन्ध बिग्रिएपछि। युवापुस्ताको यस्तो असावधानीबाट भिडियो पार्लरहरूले मनग्गे फाइदा उठाइरहेका छन्। एक व्यापारीको भनाइमा नयाँ क्लिप्स आउनासाथ सयौं सीडी बनाएर बजारमा पठाइन्छ। बजारमा नेपाली ब्लू फिल्मको चर्काे मागका कारण कमसल दृश्य समेटिएका सीडीको समेत खोसाखोस हुन्छ।

यसरी बजारमा पाइएका भिडियो पछाडिका रामकहानी भने छुट्टै हुन्छन्। पोखरा, रानीपौवाकी एउटी मासुपसलेे महिला र मासु सप्लायरबीच भएको यौनसम्पर्कलाई उनीहरूले मोबाइल फोनमा कैद गरे। पाँच मिनेट लामो उक्त यौन दृश्यको भिडियो क्लिप्स ती पुरुषका साथीले सार्वजनिक गरिदिएपछि महिलालाई छिमेकीहरूले प्रहरीसमक्ष बुझ्ाइदिए। जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख रमेशकुमार भट्टराईका अनुसार पछि उनका श्रीमानले नै त्यो दृश्य आफूसँगै खिचेको बताएर उनलाई बचाए। अहिले उनी आफ्नै पेशामा फर्किएकी छन्। सहमतिमा यौनसम्पर्क राख्ने र सीडी बनाई ब्ल्याकमेलिङ गर्ने शिक्षक जीवछ यादव र साथीकी श्रीमतीसँगको यौन दृश्य कैद गर्ने एक बेलायती लाहुरेलाई नेपाली समाजमा बढ्दै गएको खुला सेक्सका प्रतिनिधिपात्रको रूपमा बुझन सकिन्छ।

सेक्स पर्यटन
ठमेलका बन्द कोठामा सौदाबाजी गरी खिचिएका नेपाली ब्लू फिल्म बाहिर लैजाने काम २०४२ सालदेखि भएको यस्तो पेशामा लागेकाहरूको दाबी छ। तर २०४६ सालमा धरानमा बनेको फिल्मलाई सार्वजनिक जानकारीमा आएको पहिलो नेपाली ब्लू फिल्म मानिन्छ।

ठमेलमा भेटिएकी स्याङ्जाकी गुरुङ थरकी एक युवती अहिलेसम्म चार वटा ब्लू फिल्ममा खेलेको बताउँछिन्। यसअघि यौन व्यवसायमा समेत संलग्न उनको भनाइमा उनी जस्ता अन्य युवतीहरूलाई लिएर विदेशीहरूले गोप्य रूपमा ब्लू फिल्म बनाई इन्टरनेटमा अपलोड गर्ने गरेका छन्। पाँच कक्षासम्म पढेकी उनले धनाढ्य व्यापारी, उद्योगपति र नेताहरूसँगको सम्बन्धलाई पनि अघि बढाइरहेकी छन्। ब्लू फिल्ममा खेलेर कुनै गल्ती नगरेको बरु विश्वका यौन प्यासीहरूको तृष्णा मेटेको र त्यसबापत आफ्नो पेट पनि भरिरहेको उनी बताउँछिन्। एउटा फिल्म खेलेबापत रु.७० हजारसम्म पाउने सीमालाई त्यसो गर्नुपरेकोमा कुनै लाज छैन। उनी भन्छिन्, “मेरो दुर्गम गाउँका अशिक्षित बुवाआमाले इन्टरनेटमा मलाई देख्दैनन्, अरूसँग मलाई के को डर?” तर सबैले उनी जति पारिश्रमिक पाउँदैनन्। इटहरीको एक रेष्टुरेन्टमा काम गर्ने एक ब्लू फिल्मकी नायिकाले रु.६ हजार मात्र पारिश्रमिक पाएको बताइन्। धरानमा बनेको पहिलो फिल्मकी नायिकाहरूलाई जम्मा पाँच-पाँच सय रुपैयाँमा यस्तो काममा लगाइएको थियो।

केही वर्षअघि नेपालबाट बच्चाहरूलाई खेलाइएको अश्लील फिल्म अपलोड भइरहेको र त्यसको पछाडि कसको हात छ भनी खोजबिन गर्न इन्टरपोलले नेपाल प्रहरीलाई पत्र पठाएको प्रसङ्गले पनि नेपाल पहिल्यैदेखि ब्लू फिल्म निर्माण र अपलोड गर्ने थलोको रूपमा विकसित भएको देखिन्छ। पोखराको लेकसाइडमा घर भाडा लिएर यौन व्यवसाय चलाइरहेकी एक महिलाको भनाइमा उनीकहाँ रहेका महिलालाई लगेर ब्लू फिल्मको शैलीमा यौन सम्पर्क गर्ने मात्र हैन त्यसको भिडियो चित्र पनि उतार्ने गरिन्छ।

पोखराको लेकसाइडमै क्यूरियो पसल चलाइरहेकी डोल्मा लामासँग नेदरल्याण्डका नागरिकले गरेको यौन सम्पर्कको भिडियो फिल्म अहिले विश्वभर फैलिएको छ। प्रहरीलाई जानकारी छैन, समाजशास्त्रीहरूसँग तथ्याङ्क छैन; तर यस्ता नेपाली फिल्म थुप्रो बनिरहेका बजार र इन्टरनेटमा छ्याप्छ्याप्ती उपलब्ध फिल्महरूले बताउँछन्। त्यसैले कतिपयको भनाइमा भोलि थाइल्याण्डमा जस्तो सेक्स पर्यटन नेपालमा पनि फस्टाउने सम्भावना छ।

पूर्वीय कलाको माग
अरूको पर्दा पछाडि चियाउन खोज्ने मानव स्वभावका कारण शयनकक्षमा गरिने नितान्त व्यक्तिगत यौनकर्मका चलचित्र पनि व्यवसायीहरूका लागि उम्दा व्यवसाय बन्दै गइरहेको छ। एक तथ्याङ्क अनुसार इन्टरनेटमा ४.२ करोड पोर्नाेग्राफी वेबसाइट र ३७२ करोड पेज राखिएका छन्। अहिले विश्वमा पोर्नाेग्राफीले मात्र वार्षिक ५७ अर्ब अमेरिकी डलर बराबरको व्यापार गरिरहेको छ। च्याट मित्रताका नाममा खुलेका केही पोर्टलबाट पुरुषहरूले सोझ्ै दररेट मिलाएर एउटै क्षेत्रमा बस्ने आफूलाई मन परेका युवतीसँग यौन सम्पर्क राख्न सक्छन्। पछिल्लो समय इन्टरनेटबाट सामान खरिदबिक्री जस्तै यौनको पनि गतिलो व्यापार हुन थालेको छ र त्यसमा नेपाली ग्राहकहरूको सङ्ख्या दिनानुदिन बढिरहेको छ।

बेलायतबाट सञ्चालित भारतीय ब्लू फिल्मको पोर्टल इन्डिया मसला डट कमका वेब मास्टर माइकल ह्यासका भनाइमा पछिल्लो समय भारतीय ब्लू फिल्मको माग विश्वभर बढिरहेको छ। केही समययता विश्व सुन्दरी प्रतियोगितामा भारतले देखाउँदै आएको नेतृत्वदायी उपस्थिति र सङ्ख्यात्मक रूपले हलिउडलाई पछाडि छाड्दै गइरहेका बलिउडका सिनेमाले भारतको सांस्कृतिक प्रभाव विश्वभर फैलाइरहेका छन्। उनका अनुसार पूर्वीय बन्द संस्कृति, अन्तरमुखी र लज्जालु युवतीहरूका कारण यौन बजारमा उनीहरूको माग बढेको हो।


बन्द समाज र संस्कृतिमा रहेका मुस्लिम र भारतीय नारीहरूको यौन चलचित्र खोजी-खोजी हेर्ने गरिन्छ। चुरा, पोते, सिन्दुरमा सजिएकी लज्जालु युवतीकोे मुखबाट निस्कने यौनानन्दका शब्द सुन्न चाहने विश्वभर फैलिएका करोडौँ भारतीय दर्शककै कारण पनि यस्ता चलचित्रहरूको माग बढेको बताइन्छ। माइकल भन्छन्, “सस्तो पारिश्रमिकका कारण पनि भारतीय युवतीहरूलाई लिएर सिनेमा बनाउन सजिलो छ। भारतमा १० देखि १५ हजार भारुमा नायिकाहरू उपलब्ध हुन्छन् र भारु ५ लाखमा एउटा सिङ्गै सिनेमा बनाउन सकिन्छ।”

८० को दशकदेखि फस्टाएको भारतीय ब्लू फिल्मको माध्यमबाट इन्टरनेट पोर्टलहरूले विश्वभर भारतीय सेक्स बेचिरहेका छन्। विश्वका ब्लू फिल्मका व्यापारीहरू भारतलाई केन्द्र बनाएर मनग्ये पैसा कमाइरहेका छन्। सांस्कृतिक रूपले धेरै मिल्ने छिमेकी देशमा भइरहेको यस्तो परिवर्तनबाट नेपाल अछुतो रहन सक्दैन। त्यसैले नेपाली युवतीहरू पनि विश्व यौन बजारमा खपत भइरहेका छन् र यो अझ् बढ्ने सम्भावना छ। इन्टरनेट पोर्टलमा राखिएका नेपाली युवायुवतीका मनग्ये सीडी त्यसैका उदाहरण हुन्। नेपाली पोर्टलहरूमा नाङ्गिन आतुर नेपाली युवती र लोकदोहोरीमा समेत स्वीमिङ काष्ट्यूममा नचाउने निर्माताहरूको स्वार्थ समाजको बदलिएको त्यही मानसिकतालाई भजाउनुमा केन्द्रित छ। अर्धनग्न नायिकाले सेक्स अपीलसहित टच मी, होल्ड मी, किस मी भनेर गाउनु त्यसैको परिणति हो। गएको १२ वर्षमा नेपाली समाजले हिंसा मात्र हैन खुला सेक्सलाई पनि वैधानिकता दिएको देखिन्छ।

प्रविधिले बदलेको समाज
नेपालमा केही वर्षअघिसम्म कम्तीमा रु.१५ हजार पर्ने रङ्गीन टिभी अहिले रु.३ हजारमा किन्न सकिन्छ। रु.१५ सयमा पाइने भीसीडी डेक पनि धेरैका घरघरमा पुगेको छ। पानपसलमा समेत राखिने सीडी गाउँगाउँमा पुगेका छन्। यी सबले ब्लू फिल्ममा मानिसहरूको पहुँचलाई सजिलो पारिदिएको छ। शहरमा हरेकको घरमा छिरेको सेटेलाइट संस्कृतिको पञ्जाबाट पनि कोही मुक्त छैन। केबलबाट उपलब्ध हुने सय हाराहारीका टिभी च्यानलहरूमध्ये कैयौँ खुला यौन व्यवहारलाई उक्साउने खालका छन्।

हिजोसँगै बसेर हिन्दी फिल्म राम तेरी गंगा मैली हेर्न नसक्ने नेपाली परिवारमा आज रेन टिभी जस्ता रसियन च्यानलले प्रसारण गर्ने डबल-टि्रपल एक्स मूभी पचाउने सामर्थ्य विकसित भएको छ। स-साना शहरमा दिउँसै त्यस्ता च्यानलबाट आउने फिल्म बारेमा कतै उजुरी नपर्नुले नेपाली समाज यौन मामिलामा उदार बन्दै गएको देखाउँछ। यद्यपि काठमाडौँ लगायत केही शहरका केबल प्रसारकहरूलाई उक्त च्यानललाई हटाउन लगाइएको पनि छ। उता पेरिसबाट प्रसारण हुने एफटिभीको मिडनाइट हट शो युवाहरूबीच लोकप्रिय बन्नु र समाजमा सहजै पच्नुले पनि बजारवादको सांस्कृतिक पन्जामा नेपाली समाज कुन हदसम्म पर्दै गइरहेको रहेछ भन्ने देखाउँछ।

समाजशास्त्री सुरेश ढकालको भनाइमा नेपाल जस्तो बन्द समाजमा यौन उत्सुकता हुने भएकोले पनि नेपालीहरूले ब्लू फिल्मको स्वाद लिन खोजेका हुन्। मूल्य र मान्यता भत्कँदै गएको समाजमा यस्तो देखिनु स्वाभाविक पनि हो। उनी भन्छन्, “हिजो लुकेर एक दुई जनाले हेर्दा विकृति ठानिने ब्लू फिल्म आज समाजले नै हेर्न थालेपछि संस्कृति बनेको छ।” उनको विचारमा एउटा शिक्षा र संस्कारलाई विस्थापन गरेर आएको यो संस्कृति त्यस्तै कुनै संस्कृति नआउँदासम्म जाँदैन। मनोविश्लेषक मानन्धर भन्छिन्, “ब्लू फिल्म हेरेर त्यस्तै गरौँ भन्ने भावना पलाउने मानव स्वभावका कारण पनि नेपाली फिल्म बनिरहेका छन्।”

साथमा रामेश्वर बोहरा नेपालगञ्ज, त्रिभुवन पौडेल पोखरा, श्रवणकुमार देव राजविराज र रविन गिरी धरान

No comments: