Friday, June 26, 2009

अनुभव


बोल्नेले नै जित्छ

डा. शंकरमान राई

मेरो स्वास्थ्यकर्मीको पेसा ३० वर्ष पुरानो भयो । सोलुको सोताङबाट हेल्थ असिस्टेन्टको रूपमा यो यात्रा थाल्दा गाउँको अधिकांश मानिस गरिब र अशिक्षित थिए । उनीहरूलाई ठूलो अस्पताल जानु धेरै गाह्रो कुरा थियो । उनीहरू मलाई त्यहाँको डाक्टर नै ठान्थे । सामान्य बिरामीमात्र होइन, हातखुट्टा भाँचिएका, जटिल प्रकृतिका सुत्केरी केश पनि आउने गर्थे । स्वास्थ्यचौकी ल्याउन नसकिनेका लागि बोलाउन आउँथे । म उपचारको निम्ति घरमै पनि जान्थेँ । स्वास्थ्यचौकीमा मैले उपचार गर्न नसक्ने बिरामी नआउन् भनेर प्रार्थना गर्थें । किनकि गाउँलेले डाक्टर भने पनि वास्तवमा म एउटा हेल्थ असिस्टेन्टमात्रै थिएँ । सानोतिनो घाउचोटमा मलमपट्टी लगाउने र भएको औषधी दिनुबाहेक अरू काम गर्ने मेरो सामथ्र्य थिएन ।

नचाहँदा-नचाहँदै र भन्दाभन्दै पनि मैले उपचार गर्न नसक्ने बिरामी धेरै आइरहन्थे । तीमध्ये अधिकांशलाई टाढाको अस्पताल जान जेथाले साथ दिँदैनथ्यो। त्यस्ता बिरामी देख्दा सुत्केरी अवस्थामै बितेकी मेरी आमालाई सम्भिन्थेँ । तर पनि त्यस्ता असहाय बिरामीहरूलाई अरू नै अस्पताल जानु भन्नुबाहेक मसँग अरू उपाय हुन्नथ्यो । यसो भनिरहँदा मनमा तीतो अनुभूति बढ्दै गयो । त्यही तीतोपन हटाउन आफैं डाक्टर बन्ने कुरा सोच्न थालेँ । मैले जे सोचेँ, त्यो अरूलाई पनि भनेँ । कतिपयले चाहिँ 'हेल्थ असिस्टेन्ट' पनि डाक्टर हुन्छ भनेर खिल्ली उडाए ।

म आज पनि मनमा लागेको कुरा भनिहाल्छु । त्यसो गर्दा त्यो कुरा पूरा हुने-नहुने चाँडै थाहा हुन्छ । सायद सोलुमा हुँदा मैले मेरा चाहना मनभित्रै लुकाइराखेको भए म जीवनभर 'हेल्थ असिस्टेन्ट'मै सीमित रहन पनि सक्थेँ । शिक्षण अस्पताल, बेलायत, बंगलादेश र अमेरिकामा अध्ययन गर्दै आज इन्टर प्लास्ट सर्जन हुन्न थिएँ ।

भित्री इच्छा प्रकट गर्नेसँग आफ्नो लक्ष्य प्राप्तिका लागि लागिपर्ने शक्ति हुँदोरहेछ । त्रिविको मेडिसिन क्याम्पसमा एमबीबीएस पढिरहँदा त्यतिबेलाका धेरै सिनियर डाक्टरहरू 'हेल्थ असिस्टेन्ट'बाट बनेका डाक्टर राम्रो हुँदैन भन्ने पूर्वाग्रह राख्थे । काम सिकाउने क्रममा पनि होच्याउँथे । उनीहरूको बोली र व्यवहारले मलाई बेला-बेला साह्रै पनि पार्थ्यो । मैले सोलुको सोताङमा प्रकट गरेको डाक्टर बन्ने चाहनाले त्यस्ता पीडालाई धेरै बेर रहन दिँदैनथ्यो । यही उत्प्रेरणाले गर्दा अन्ततः डाक्टर भएर शिक्षण अस्पतालमा काम पनि गर्न थालेँ ।

त्रिवि शिक्षण अस्पतालमै विदेशी डाक्टरहरूले गरेको खोँडे बच्चाको एउटा अपरेसन देखेर म चकित भएँ । त्यो अपरेसनमा अन्य अपरेसनमा झैं धेरै उपकरण थिएनन् । काम गर्ने समूह पनि सानो थियो । तर उनीहरूले आधा घन्टामै कुरूप खोँडेलाई सुन्दर बनाइदिए । त्यो बच्चाको परिवर्तित रूप देखेर यति प्रभावित भएँ कि मैले मनमा कुरा रोक्न सकिन र तुरुन्तै त्यो कुरा सिकाइमागेँ । उनीहरू पनि मलाई सिकाउन तयार भए । यदि त्यो बेला उनीहरूले के भन्लान् भनेर मनको कुरा मनमै राखिराखेको भए आज इन्टर प्लास्ट सर्जन भएर १५ हजार खोँडे बालबालिकालाई सुन्दर बनाउन सक्ने थिइन । बाँकी रहेका ३० हजार खोँडे बालबालिकाको रूप परिवर्तन गर्न म र मेरो समूह आज पनि लागिपरेका छौं ।

प्लाष्टिक सर्जरी सिक्दै गर्दा पनि मलाई यसको खास महत्त्व के हो भन्ने थाहा थिएन । तर मेरो त्यही खुल्दुलीले आज कति बाआमाको मन हाँसेको छ । कति खोँडे बच्चाको हीनताबोध हटेको छ । कति मान्छे वर्षौदेखि आगोले डढेर बिग्रिएका हातखुट्टा ठीक भएर हिँड्न सक्ने भएका छन् । मैले विदेशीसँग अचानक प्रकट गरेको कुराले गर्दा नै म अरूको लागि यो काम गर्नसक्ने भएको हुँ ।

मान्छे सोचेर बोल्नु भन्छन् । हो, होश पुर्‍याएर बोल्नु पनि पर्छ । तर सिक्ने चाहना छ भने अचानक बोलेका कुराले धेरै सम्भावनाहरू पनि खोलिदिन्छ । नबोल्नेले केही ठाउँमा आफ्नालागि राम्रो काम गर्लान्, तर बोल्नेले धेरै ठाउँमा धेरैका लागि राम्रो काम गर्न सक्छन् । यो मेरो अनुभव हो । यो नै मेरो विश्वास हो ।

यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम 'मेरो जिन्दगी मेरो विश्वास'बाट साभार गरिएको हो ।

No comments: