Wednesday, August 5, 2009

म गोर्खाकी बहिनी हुँ


लिबरल डेमोक्र्याटिक पार्टीका नेता पिटर क्यारोल, काउन्सिलर धन गुरूङ, गोर्खा वकिल मार्टिन होवे, डेभिड इन्राइट र किरण ओरूर्केसहित आइपुगेकी थिइन्, बेलायती अभिनेत्री जोआना लुम्ले। गोर्खाली न्यायिक अभियानकारीका रुपमा परिचित ६३ वर्षीया लुम्लेले पाँचदिने नेपाल यात्रामा काठमाडौं, धरान, दमक, पोखरा, स्याङ्जा पुगिन् र गोर्खा सैनिकका परिवारसँग भलाकुसारी गर्न भ्याइन्। त्यसै क्रममा पोखराको मट्टीखान भ्यू टावर लुम्ले परिवारका नाममा घोषणा गरिएको छ। लन्डन फर्कनुअघि पोखरामा लुम्लेसँग भोजराज भाटले गरेको संवाद।

-पोखरा, मट्टीखानबासीले भ्यू टावर लुम्ले परिवारका लागि नामकरण गर्दा कस्तो अनुभव भयो ?
हामीलाई निकै ठूलो 'सप्राइज' दिइयो। निकै सुन्दर सल र आकर्षक खुकुरीसहित मट्टीखान भ्यू टावर मेरो परिवारका नाममा समर्पण गरियो। यो अद्वितीय सम्मान हो। मट्टीखान भ्यू प्वाइन्टबाट हिमाली परिदृश्य, पहाड र पोखरा निकै राम्रो देखिँदो रहेछ। सम्भवतः अर्को वर्ष अक्टोबरमा नेपाल आउने छु। म यही अग्लो ठाउँमा परिवारसहित उभिनेछु र सुन्दर पोखरा नगरलाई नियाल्नेछु।

-नेपालमा यस्तो सम्मान होला भन्ने सोच्नुभएको थियो ?
लन्डनको गोर्खा अभियानमा लाग्दा हजारौं गोर्खालीका बीचमा नाराबाजी गर्थें। गोर्खा झन्डा बोक्थेँ। नेपाल आएपछि अलि फरक अनुभूति भयो। विभिन्न थरिका फूलले मेरो भब्य स्वागत भयो। उनीहरू सबैले भन्थे, गोर्खा देशमा स्वागत छ। पोखरा, धरानदेखि मलाई स्वागत गर्न आएका रहेछन्। जहाँ गयो, मेरो वरिपरि स्वागत गर्ने हजारौंको भीड लाग्थ्यो। मैले कहिल्यै असुरक्षित महसुस गरिनँ। सबै मेरो घाँटीमा खादा ओढाउन तँछाडमछाड गर्थे। कसैकसैले मिठो र न्यानो चुम्बन लिन्थे। गोर्खालीले हात उठाएर नमस्ते गर्दा मलाई बुबाको झझल्को आउँथ्यो।

-लन्डन फर्केपछि गोर्खा न्यायिक अभियानका लागि तपाईँ के गर्नुहुन्छ ?
बेलायतबासीमा गोर्खाको विशेष योगदान छ। प्रथम र द्वितीय विश्वयुद्धमा गोर्खाले बेलायतीका लागि ज्यान अर्पित गरे। कतिको त लास नै पाइएन। गोर्खालाई बहादुरीको कदर गर्दै बेलायतले भीसी, एमसीजस्तो उच्च सैनिक पदकबाट सम्मान त गर्यो तर उनीहरूको समान हकअधिकारबारे सुनुवाइ गरेन। हामी अभियानमा लागेपछि केही हदसम्म सफल भएका छौं। म लन्डन फर्केपछि गोर्खाको वस्तुस्थिति समेटेर डकुमेन्ट्री बनाउने छु। गोर्खा भेट्रानको अवस्थाबारे बेलायतीलाई जानकारी दिनेछु।

-नेपाल आउनुभन्दा अघि र पछि कस्तो अनुभूति भयो ?
यहाँ आउनुअघि गोर्खा परिवार र नेपालीसँग केही तस्बिर हेरेको थिएँ। म नेपालको चारैदिशा पुगेँ। अब म संसारका अन्य नागरिकलाई प्रस्ताव गर्नेछु- नेपाल विश्वकै सुन्दर देश हो। दानी जनता, स्वादिष्ट भोजन र दुर्लभ दृश्य नै यो देशको सम्पत्ति हो, जुन अरू देशमा पाइँदैन।

-आफ्नो बाल्यकालमा गोर्खासम्बन्धी कुनै गतिविधिको सम्झना छ ?
म सन् १९४६ मा कास्मिरमा जन्मेकी हुँ। हाम्रो परिवार त्यसको एक वर्षपछि अर्कै ठाउँमा हिँड्नुपर्यो। काश्मिरबाट हुन्जा, केरला हुँदै हङकङ जानुपर्यो। सन् १९४९ मा हङकङमा खासै घर थिएनन्। मलाई त्यतिखेर गोर्खासागै उठबस गरेको सम्झना छ। त्यसपछि हामी बुबासँगै मलाया गयौं। त्यहाँको जंगल, गर्मीको अझै झलझली याद आउँछ। जब म त्यहाँबाट बेलायत पुगें, त्यसबेला आठ वर्षकी मात्र थिएँ।

-तपाईं गोर्खा न्यायिक आन्दोलनमा कसरी लाग्नुभयो ?
मेरा बुबा सन् १९३९ देखि १९५६ सम्म गोर्खा राइफलको अफिसर हुनुहुन्थ्यो। दोस्रो विश्वयुद्धमा उहाँ मलाया, बर्मा र हङकङमा गोर्खासँगै रहनुभयो। सन् १९४७ को लडाइँमा गोर्खाले बुबालाई नबचाएको भए, म जन्मने नै थिइनँ। त्यसैले हाम्रो जीवनको आधा इतिहास गोर्खासँग जोडिएको छ। तिनै गोर्खालाई न्यायिक असमानता भएको र उनीहरूलाई स्थायी बसोबास दिन बेलायत सरकारले इन्कार गरेको देखेर म यस अभियानमा लाग्न अभिप्रेरित भएकी हुँ।

-तपाईँलाई गोर्खा न्यायिक अभियानमा लाग्न कसले अभिप्रेरित गरेको हो ?
पिटर क्यारोल। सन् २००३ देखि पिटर क्यारोल गोर्खा आन्दोलनसँग जोडिएका छन्। उनी गोर्खाको बढी बसोबास भएको फिक्सटोन राज्यका लिबरल डेमोक्र्याटिक पार्टीका नेता हुन्। पिटरले मलाई गोर्खाका पक्षमा प्रेसमा बोलेर जनमत सिर्जना गर्नेतिर जोड दिए। मार्टिन होवे र उनका वकिलहरूको टोलीले विभिन्न ६ थान मुद्दा लन्डन उच्च अदालतमा दायर गरे, त्यसपछि हामी सबै यस अभियानमा जोडिएका हौं।

-'गोर्खाकी देवी' र 'नेपालकी छोरी' भनेर सम्बोधन गर्दा कस्तो लाग्छ ?
मेराका लागि कति सम्मान हो भनेर बोल्ने शब्द नै छैन। म यति मात्र भन्छु, धन्यवाद र नमस्ते छ सबैलाई। नेपालकी छोरी भन्ने उत्कृष्ट उपाधि पाएकी छु। मेरा लागि यसभन्दा ठूलो केही हुन सक्दैन। म त आफूलाई गोर्खाकी बहिनी भन्न चाहन्छु। भीसी तुलबहादुर पुनले मलाई छोरी भन्नुहुन्छ। उहाँ मेरा सम्मानित पिता हो।

गोर्खा आन्दोलन थाल्दासम्म मलाई थोरै गोर्खालीले चिन्थे। पछि बेलायती टेलिभिजनहरूमा गोर्खाको न्यायिक अभियानमा अन्तर्वार्ता दिन थालेपछि विस्तारै सबै नेपालीले चिन्न थालेका हुन्। नेपाल आएपछि मात्र महसुस भयो, म साँच्चै जोआना लुम्ले रहेछु, तिनै नेपालीकी छोरी। (हाँस्दै)

-तपाईँले बेलायतको संसद् अगाडि नांगो खुकुरी उठाउनुभयो, 'आयो गोर्खाली' भन्दै कराउनुभयो। तपाईँमा त्यतिखेर त्यस्तो भावना कसरी जाग्यो ?
मलाई त्यतिखेर गोर्खाको पेन्सन तथा आवासीय मुद्दाबारे सबैको ध्यानाकर्षण गर्नुथियो। आयो गोर्खाली भन्नुको मतलब गोर्खा लडाइँमै छन् भन्ने सन्देश दिनु थियो। हामी न्यायका लागि लडाइँ लडिरहेका थियौं। त्यसका लागि प्रेसको निकै ठूलो सहयोग आवश्यक थियो। फोटो पत्रकारले तस्बिर लिनु पनि त्यत्तिकै जरूरी थियो। बेलायतको संसद्अगाडि चारैतिर गोर्खाली झन्डा उठाइएका थिए। त्यही बेला एकजनाले नांगो खुकुरी उठाएर मलाई दिए। र, मैले त्यो खुकुरी समात्दै 'आयो गोर्खाली' भनेर चिच्चाए। प्रेसले पनि हाम्रो भावना राम्ररी बुझेर निकै स्थान दियो। मलाई लाग्छ, खुकुरीको महत्व सबैले बुझेका छन्। पोखरामा पनि निकै मनमोहक खुकुरी उपहार पाएकी छु।

-गोर्खाका विषयमा धेरै मुद्दा बाँकी छन्। अझै गोर्खालाई बेलायतीसरह पेन्सन सुविधा छैन। लडाइँमा मारिएका सैनिकका परिवार (विधवा) बारे नीति अस्पष्ट छ। १८ वर्षभन्दा माथिका गोर्खाका छोराछोरीलाई बेलायत लैजान समस्या छ।

-अब गोर्खा न्यायिक अभियान कसरी जान्छ ?
अहिले त स्थायी बसोबासको अभियानमा टुंगो लागेको मात्र हो। यसबाहेक अन्य मुद्दामा विचारविमर्श र छलफल बाँकी नै छ। हामी वीर गोर्खालीका लागि सकेसम्म काम गर्छौं। त्यसैका लागि यहाँ आएका हौं। अभियान जारी रहनेछ।
Source : Ajambari.com

2 comments:

Unknown said...

Wow Joana Lumle, It's really greatful service for neplease ppl,

Thank you very Much.

we selute you.

Anonymous said...

nice one